Exclusive :–


Monday, September 20, 2010

बजाज पल्सर स्पोर्टसद्वारा खेलाडीहरु सम्मानित

पारस खडका र गंगा अधिकारी । दुई फरक व्यक्तित्व । यिनै दुई बजाज पल्सर स्पोर्टस एवार्ड ०६६ मा वर्षका उत्कृष्ट पुरुष र महिला खेलाडी घोषित भए । पारस लामो समयदेखि नेपाली क्रिकेटसँग अभ्यस्त नाम हो, उनकै हातमा राष्ट्रिय टिमको नेतृत्व छ । उनको व्यक्तित्व खुला छ । त्यसको ठीक विपरीत कराँतेकी गंगा चुपचाप बस्न रुचाउने खेलाडी हुन् । विश्वास नहुन सक्छ, उनले खेल्न थालेको पनि एक दशकभन्दा धेरै भैसकेको छ, तर चर्चामा भने यसपल्ट मात्र आइन् । दुई फरक खालका उपलब्धिका बाबजुद अन्ततः उनीहरू उत्कृष्ट रहे । पारसको कप्तानीमा पछिल्लो वर्ष नेपालले आईसीसी वल्र्ड क्रिकेट लिगको डिभिजन फाइभ उपाधि ...


जित्यो । नेपाली सिनियर टिमले हात पारेको यो अहिलेसम्मकै सर्वाधिक ठूलो सफलता हो । उक्त प्रतियोगितामा उनले २ सय ५० रन बनाए । उनकै नेतृत्वमा नेपाल आठ वर्षपछि एसीसी ट्रफीको फाइनलमा पुग्यो । त्यसैले एवार्ड पाएयता पारसले भने, 'यो सफलताको श्रेय पूरा नेपाली राष्ट्रिय क्रिकेट टिमलाई ।' झापाकी गंगाका लागि बंगलादेशमा भएको ११ औं दक्षिण एसियाली खेलकुद पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता हो । उनी चौथो राष्ट्रिय खेलकुदमा सहभागी थिइन् । उनले आठौं दक्षिण एसियाली खेलकुदको छनोटसमेत खेलेकी थिइन्, तर सफलता भने आफ्नो खेलजीवनको उत्तरार्द्धमा प्राप्त मात्र हात पारिन् । बंगलादेशमा उनको स्वर्णसम्मको यात्रा प्रभावशाली रह्यो । एवार्डको खुसीयालीमा पनि उनले खासै धेरै शब्द खर्चिनन् । अधिकारीले भनिन्, 'मलाई सहयोग गर्ने सबैलाई धन्यवाद ।' गंगासँगै नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गरेको यसपल्टको एवार्ड कार्यक्रममा ११ औं साग खेलकुद र त्यसका विजेता खेलाडीकै प्रभुत्व रह्यो । दस विधाका एवार्डमध्ये उसुकी विनिता महर्जन उत्कृष्ट युवा खेलाडी चुनिइन् । 


उनले सागमा थाउलो थाइची छ्वानमा स्वर्ण जितेकी थिइन् । प्रशिक्षकको होडमा कराँतेका दीपक श्रेष्ठ अगाडि रहे । उनको नेतृत्वमा कराँतेमा नेपालले सागमा ३ स्वर्ण, २ रजत तथा २ कांस्य जितेको थियो । श्रेष्ठको प्रशिक्षणमा एपीएफले घरेलु प्रतियोगितामा पनि लगातार उत्कृष्ट प्रदर्शन गरिरहेको छ । एसएमएस भोटिङका आधारमा विजेता छनोट गरिने लोकपि्रय खेलाडीको एवार्ड फुटबलका सन्तोष साहुखल जिते । एक महिना चलेको एसएमएस भोटिङमा उनले ७४ हजार ८ सय १४ मत पाए । सहिद स्मारक 'ए' डिभिजन लिगमा नबिल थ्री-स्टारका लागि खेल्दा उनले सर्वाधिक १९ गोल गरेका थिए । त्यसयता उनी सर्वाधिक महँगा खेलाडीका रूपमा लक्ष्मी हुन्डाई मनाङ-मस्र्याङ्दीसँग आबद्ध भएका छन् । लाइफटाइम एचिभमेन्ट एवार्ड ६९ वर्षीय कोमल पाण्डेले पाए । उनले फुटबल, क्रिकेट र एथलेटिक्सका अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालका प्रतिनिधित्व गरेका छन् । पाण्डे सन् १९६४ मा टोकियो ओलम्पिकका अवसरमा नेपालमा ल्याइएको ओलम्पिक टर्च घुमाउने पहिलो नेपाली खेलाडी हुन् । 


यसपल्ट विशेष सम्मान तेक्वान्दोका दीपक विष्टले पाए । उनले ढाकामा लगातार चौथो साग स्वर्ण जितेका थिए । यस्तो उपलब्धि हात पार्ने उनी पहिलो नेपाली हुन् । पारा एथलिटतर्फ अर्जुनकुमार सापकोटा, जादुई प्रदर्शनमा क्रिकेटकी रुविना क्षेत्री तथा साहसिक एवार्डमा जुडोकी देवु थापा उत्कृष्ट घोषित भए । 
बजाज पल्सर स्पोर्टस एवार्ड-२०६६
विधा विजेता,उत्कृष्ट खेलाडी(पुरुष)पारस खडका-क्रिकेट,उत्कृष्ट खेलाडी(महिला)गंगा अधिका-कराँते,उत्कृष्ट युवा खेलाडी विनिता महर्जन-उसु,उत्कृष्ट प्रशिक्षक    दीपक श्रेष्ठ-कराँते,लोकप्रिय खेलाडी सन्तोष साहुखल-फुटबल,पारा एथलिट अवार्ड अर्जुनकुमार सापकोटा,जादुग प्रदर्शन अवार्ड रुविना क्षेत्री-क्रिकेट,साहसिक अवार्ड    देवु थापा-जुडो,विशेष सम्मान दीपक विष्ट-तेक्वान्दो,र लाइफटाइम एचिभमेन्ट अवार्ड कोमल पाण्डे स्रोत:ईकान्तिपुर

0 comments:

Post a Comment